
काठमाडौं, पुस २६- नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) नेपालको संयुक्त आयोजनामा रैथाने बालीको प्रदर्शन गर्ने उदेश्यले काठमाडौंको सोल्टी होटलमा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
‘अन्तर्राष्ट्रिय नीति संवाद भविष्यको स्मार्ट फसलहरू’ नाम दिइएको उक्त कार्यक्रम बिहिबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुसालको अध्यक्षता सम्पन्न भएको हो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेको र गरेको सहकार्य र योगदानको प्रशंसा गरेका थिए ।
मन्त्री भुसालले कृषि अनुसन्धानमा एफएओको सहयोग र सहकार्य प्रशंसनीय रहेको र यसलाई अँझ मजबुत बनाउनुपर्ने बताए ।
एफएओका महानिर्देशक डा. क्यू डोङ्ग्यूले नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए ।उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरे । सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताए ।
कार्यक्रममा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई निरन्तरता दिने साथै, दुई पक्षबीच कृषि, वन, वातावरण तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।
कार्यक्रममा रैथाने बाली प्रवर्द्धनमा सक्रिय व्यक्ति, संघ-संस्थाहरुको उपस्थिति रहेको थियो ।