Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टी निर्णय विपरित सभामुख बनेका विष्टलाई राजीनामा दिएर फिर्ता हुन लोहनीको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २४ गते


Advertisement

काठमाडौं,  पुस २४-  कोशी प्रदेशमा सभामुख लिएको विषयलाई लिएर राप्रपामा विवाद भएको छ । प्रदेशको नेतृत्वले सभामुख लिएपछि डा. प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सभामुख लिन आग्रह गर्दै आएको थियो, तर राप्रपालाई राष्ट्रियसभामा एक सिट दिनुपर्ने सर्त राख्यो । सत्ता गठबन्धनले त्यसको सुनुवाइ नगरेपछि सभामुख मात्र भए पनि लिन राप्रपा तयार भएको थियो ।

२४ पुसका लागि प्रदेशसभाको बैठक पूर्व निर्धारित थियो । मंगलबार बिहानै उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढ्यो । संसदीय दलका नेता भक्ति सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थामसुहाङ समर्थक बसेर अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरे ।

तर उनी सभामुख निर्वाचित नहुँदै नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशक समितिको बैठक बोलाए । मलेसिया गएका अध्यक्ष राजेन्द्र लिङ्देन आइपुगेका थिएनन् । त्यसैले महामन्त्रीहरु समेत रहेको निर्देशक समितिको बैठक उनले बोलाएका थिए ।

पार्टी कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ लगायतका नेताहरु थिएनन् । नेता लोहनीसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा सभामखु लिन नहुने पक्षमा थिए । बैठकले त्यही निर्णय लियो ।

‘हामी संविधान संशोधन हुनुपर्छ भनेर आन्दोलनमा जाने तयारी छौं’ निर्देशक समितिका संयोजक डा. लाहनीले भने, ‘जसको विरुद्धमा आन्दोलन गर्ने भनिएको हो, त्यसको रक्षा गर्ने पद लिन मिल्दैन ।’ उनले त्यसअनुसार प्रदेश समितिलाई लेखेर पठाउन पार्टी कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए ।

तर निर्देशक समितिको निर्णय प्रदेशमा नपुग्दै कोशीमा प्रदेशसभा बैठक सुरु भयो । प्रस्तावक राप्रपा संसदीय दलका नेता सिटौलाले विष्टलाई सभामुख बनाउने प्रस्ताव राखे, थामसुहाङले समर्थन गरे । एक जनाको मात्र उम्मेदवारी परेकाले राप्रपा प्रदेशसभा सदस्य विष्ट सभामुखमा निर्विरोध निर्वाचित घोषणा भए ।

कोशीमा त पार्टीका प्रदेशसभा सदस्य विष्ट सभामुख निर्वाचित भइसके नि भन्ने प्रश्नमा राप्रपा नेता लोहनीले पार्टीको निर्णय विपरीत जान नमिल्ने बताए । पार्टी अध्यक्षकै नेतृत्वमा केही दिन पहिले बसेको बैठकले सभामुख पद नलिने निर्णय गरेको भन्दै उनले भने, ‘फिर्ता गर भनेका छौं । राजीनामा दिएर भने पनि गर्नुपर्छ ।’


प्रतिकृया दिनुहोस्