Hamro Sanchar

देउसी खेल्दा दान थोरै दिएको भनेर हत्या गरिएका राजधन राईका हत्यारा ३० वर्षपछि पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २३ गते


काठमाडौं, पुस २३- भोजपुर प्रहरीले ३० वर्षअघि भएको हत्‍याको घटनामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षअघि भएको हत्याको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए।

२०५० मंसिर ३ गते साबिक कोट गाबिसका राजधन राईको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ बस्ने ५० वर्षीय कृपाराज राई, ४६ वर्षीय नइन्द्र भन्ने नगेन्द्रकुमार राई, ५५ वर्षीय विदुरकुमार राई, ५४ वर्षीय भिमराज राई र ४२ वर्षीय थिरकुमार राईलाई पक्राउ गरेको हो। उनीहरू साबिक खावा गाबिसका हुन्।

कृपाराजलाई ललितपुरको सुनाकोठी, नगेन्द्रकुमारलाई धरान, विदुरकुमारलाई उदयपुरको वेलका, भिमराजलाई उदयपुर रामपुर ठोक्सिला र थिरकुमारलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो।
डिएसपी पाठकका अनुसार उनीहरू हत्याको घटनामा मतियारको रूपमा दोषी ठहर भएका व्यक्तिहरू हुन्। २०६१ भदौ २८ गते भोजपुर जिल्ला अदालतले उनीहरूलाई तीन वर्षको सजाय सुनाएको थियो।

२०५० कात्तिक २८ गते लक्ष्मी पुजाको दिन प्रतिवादीहरू शुक्रदेव राई, कृपाराज लगायत २६ जना देउसी खेल्न राजधन राईको घरमा देउसी खेल्न पुगेका थिए। देउसी खेल्नेक्रममा दानको पैसा थोरै दिएको भनेर उनीहरूबीच विवाद सुरू भएको थियो। त्यहीबेला मापसे गरेको उक्त समूहले राजधन राईमाथि कुटपिट गरेका थिए।

त्यही घटनालाई लिएर मंसिर ३ गते खावा गाबिस र कोट गाबिसका स्थानीयबीच भएको विवादलाई मिलाउन छलफल गरिएको थियो। तर पुन: विवाद सुरू भएपछि शुक्रदेव लगायतले राजधन राईमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए। शुक्रदेव यस घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ। उनी त्यसदिनपछि भागेर भारत पुगेका थिए। तर उनी फेला पर्न सकेनन्।

२०६१ भदौ २८ गते भोजपुर जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष कैद सजाय सुनाएको थियो। अन्य प्रतिवादीहरुलाई मतियारको रूपमा ३ वर्ष कैद सजाय फैसला ठहर गरेको थियो। घटनामा संलग्न मुख्य प्रतिवादी शुक्रदेव भारतमा रहँदा मृत्यु भइसकेको खबर पाएको डिएसपी पाठकले बताए। अनुसन्धानकै क्रममा प्रहरीले पछिल्ला केही दिनमा पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

उनीहरूको सजाय भुक्तानका लागि भोजपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्