Hamro Sanchar

मेलुङ गाउँपालिकाद्धारा किसानलाई अनुदानमा हातेट्याक्टर र आलुको बिउ वितरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २२ गते


दोलखा, पुस २२- दोलखाको मेलुङ गाउँपालिकाले किसानलाई हातेट्याक्टर र उन्नतजातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर-३ का किसानलाई हातेट्याक्टर तथा उन्नतजातको आलुको बिउ वितरण गरेको हो ।

किसानलाई गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले उक्त सामाग्री वितरण गरेका हुन् ।

बागमती प्रदेश सरकारको सहयोगमा वडाको दोभान वर्षे आलु उत्पादक कृषि समुहमा आबद्ध किसानलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष थोकरले हाम्रोसंचारलाई जानकारी दिए । आलु प्रवर्द्धन कार्यक्रमका लागि प्रदेश सरकारले गाउँपालिकालाई १० लाख अनुदान दिएको थियो ।

अध्यक्ष थोकरकाअनुसार छनोटमा परेका ३० जना किसानलाई मिनिटिलर ५.५ को एचपिको डिजेल इन्जिनको ५ थान हातेट्याक्टर, ४ टन उन्नत जातको आलुको बिउँ, विषादी छर्नको लागि स्प्रेयर १६ लिटरको १५ थान,आलुमा लाग्ने किरा नियन्त्रणको लागि जैविक ट्रप, भिटामिन लगायतका कृषि सामग्री वितरण गरिएको हो ।

पालिकाको सो क्षेत्र सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । वडाको दोभान कृषि समूहले बार्षिक १० हजार टन आलु उत्पादन गर्दै आएको छ । भने किसानले १५ करोड बराबरको आलु बिक्री गर्दै आएका छन् ।

गाउँपालिकाले अनुदानमा सहयोग प्रदान गरेपछि आलुखेतीलाई निरन्तररूपमा व्यावसायिकरूपमा गर्दै आएका किसान खुसी भएका छन् । पालिकाले अन्य वडाका आलुखेती गर्ने किसानलाई पनि अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग पुर्याउँदै आएको छ । भने वडा नम्बर-५ का किसानलाई ५ लाख बराबरको कृषि सामग्री तथा औजार वितरण गर्ने तयारी रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्