Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंगो लगायो १९ उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २२ गते


Advertisement

काठमाडौं, पुस २२- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रूजु गरेर केही बेरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेका एक नेताले जानकारी दिएअनुुसार एमालेले सात प्रदेशका १९ सिटमै उम्मेदवारीको टुंगो लगाएर टिकटसमेत दिइसकेको छ।

ती नेताले दिएको जानकारीअनुसार बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।

अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। काठमाडौंका देवकोटा एमालेको युवा संघमा आवद्ध थिए। युथ फोर्समा सक्रिय रहेका बेला माओवादीसम्बद्ध योङ कम्युनिस्ट लिगले आक्रमण गर्दा खुट्टा गुमाउन पुगेको एमालेले बताएको छ।

यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए। कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन्।

दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको एमाले कर्णालीका एक नेताले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको छ।

महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन्।

अपाङ्गता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने प्रदेश अध्यक्ष नवराज शर्माले बताए।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लागेको प्रदेश कमिटीले जानकारी दिएको छ। कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएकी छन्।

लुम्बिनी प्रदेशबाट पाल्पाका अन्य समूहबाट झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बन्ने निश्चित भएको छ।

एमालेले मधेश प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको छ। अन्य समूहबाट महोत्तरीका डा. अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई मधेश प्रदेशबाट उम्मेदवार बनाउने भएको छ।

शुक्रबार बसेको एमालेको २६ औं सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत माघ ११ गते निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन्। सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन्।

सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन्। यद्यपि समाजवादीले २ सिटमा चित्त बुझाएको छैन।

३ सिटको ‘बटम लाइन’ अघि सारेको एकीकृत समाजवादीको अहिले सचिवालय बैठक बसिरहेको छ।


प्रतिकृया दिनुहोस्