
काठमाडौँ, पुस २०- १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेको अनुसन्धानका क्रममा हालसम्म सोही समूहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलको टोलीले गरेको अनुसन्धानमा सुन तस्करीको जालो पत्ता लागेको हो ।
गत मङ्सिर २१ गते राती युएईको दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेले ज्याकेटमा खल्ती बनाई तस्करी गरी ल्याएको १४ किलो सुन विमानबाट ओर्लने बित्तिकै बरामद भई घलेलाई समेत पक्राउ गरिएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा चन्द्र घलेलाई सुन ल्याउन लगाउने गिरोहले १ सय ३८ किलो सुन तस्करी गरेको अनुसन्धान बाट खुलेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे आफैँ विमानसम्म पुगेर विमानबाट ओर्लने बित्तिकै सुन ल्याउने चन्द्र घलेलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको साथबाट प्रतिथान २ किलो दरका ७ थान गरी कुल १४ किलो सुन बरामद भएको थियो । विशेष सुराकीको आधारमा भन्सार कार्यालयले गरेको अनुसन्धानमा चन्द्रले पटकपटक दुबईबाट सुन ल्याएको पुष्टि भएको थियो । चन्द्रकै सूचनाका आधारमा प्रहरी र भन्सारका अनुसन्धान अधिकारीले छानबिन गर्दा सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका १० जनालाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
अनुसन्धानका क्रममा एकै व्यक्तिले एक पटकमा १४ किलोका दरले ७ पटकसम्म सुन तस्करी गरी ल्याउन सफल भएको खुलेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी कृष्ण कुमार श्रेष्ठले आफूले दुबईबाट ७ पटकसम्म १४ किलोका दरले सुन ल्याएको बयान दिएका छन् । आफू म्यानपावरको एजेन्ट रहेको र नेपालबाट मानिसहरू लिएर दुबई जाने गरेको तथा फर्कने क्रममा सुन लिएर आउने गरेको श्रेष्ठको बयानमा उल्लेख रहेको छ ।