Skip

Hamro Sanchar

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पुर्व र वर्तमान गृहमन्त्री बीच जुहारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १६ गते


काठमाडौं,पुस १६- प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पुर्व तथा वर्तमान गृहमन्त्री बीच जुहारी चलेको छ ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठादा वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लामिछानेका सवालको अक्षरश: जवाफ दिएका छन्।

लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ भनेका थिए।

लामिछानेले भुटानी शरणार्थी प्रकरण र ६० किलो सुन बरामद प्रकरणमा आफूले दिएको प्रमाण पनि गृहमन्त्रीले जोगाएर राखेको बताएका थिए।

उनले न्यायिक छानबिन समिति बनाउनुको उद्देश्य कतै आफ्नाहरूलाई जोगाउन त हैन भनेर गृहमन्त्रीलाई सोधेका थिए। लामिछानेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेमाथि नै प्रश्न गरेका छन्।

उनले लामिछाने पहिले नै प्रतिक्रियात्मक भएको बताएका हुन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेले गरेका तर्कहरू गलत भएको बताएका हुन्।

‘मलाई केही पर्छ कि क्या हो त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरूलाई? अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भन्ने पो लाग्छ कि!,’ श्रेष्ठले भने, ‘दोष छ भने कारबाही गरिन्छ। तर प्रतिशोध साध्न सकिन्न।’

गृहमन्त्री श्रेष्ठले कानुनको कार्यान्वयनमा निष्पक्षतापूर्वक लागेको बताउँदै लामिछानेले उठाएका सवालहरूको जवाफ दिएका हुन्।

‘म रियाक्टिभ मान्छे होइन,उहाँले समितिमै प्रश्न उठाएको भएकाले समितिमै जवाफ दिन उपयुक्त ठानेको छु,’ गृहमन्त्री श्रेष्ठले भने, ‘६० किलो सुन काण्डमा सिआइबीलाई छानबिन गर्न ल्याइयो। त्यो किन ल्याइयो त भने प्रहरी परिचालन गरेर नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सिआइबीमा ल्याइयो भन्ने कुरा उहाँको छ। तर छानबिन समिति बनाउन माग गर्ने र बनिसकेपछि धन्यवाद दिनेमध्ये उहाँ पनि एक हो।’

गृहमन्त्रीले जवाफ दिँदा लामिछाने भने बैठकमा थिएनन्।


प्रतिकृया दिनुहोस्