काठमाडौं, पुस १६- लामो समय देखि राजनीतिक कार्यक्रम मार्फत सडकमा नआएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टको क्रान्तिकारी युवा संगठनले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेको छ ।
संगठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न प्रदर्शन गरेको हो ।
बालकुमारी घटना, एमसीसी र एनसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले जानकारी दिए । उनले भने, ‘हामी गरेर सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो ।’
यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा संगठनले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरुमध्ये अहिलेसम्म ३२ जना पक्राउ परेको र उनीहरुलाई फरक-फरक ठाउँमा राखिएको प्रारम्भिक जानकारी आएको भट्टले बताए । पक्राउ पर्नेहरुमा केन्द्रीय कार्यालय सदस्य लगायत छन् ।