काठमाडौं, पुस १५- ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको घटनाको कारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । घटनापछि मंत्री ज्वालाले बालकुमारी घटनासंग आफु र आफ्नो मन्त्रालयको कुनै सम्बन्ध नभएको अभिव्यक्ति दिएका थिए ।
उनको यो अभिव्यक्ति प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि मन्त्री ज्वालाको हर्कतप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
मन्त्रालयका अधिकारीहरूले उक्त घटनाको जिम्मेवार नै मन्त्री ज्वाला रहेको दाबी गर्दै आएका छन् । नाम उल्लेख नगर्ने सर्तमा श्रम मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यत्रो आन्दोलन चर्किरहेको जानकारी मन्त्री ज्यूलाई नहुने कुरा नै थिएन होला । त्यही बाटो जानुपर्ने, बाहिर ओर्लिएर आन्दोलनकारीलाई सम्झाउनुपर्ने काम गलत थियो । उहाँको हर्कत गलत छ ।’
आन्दोलनकारीहरूले सरकारी अधिकारीमाथि आक्रोश व्यक्त गर्नु स्वभाविक हो । त्यसैमाथि मन्त्री नै झण्डा फहराउँदै निस्किएपछि आन्दोलनकारी थप उग्र बनेको मन्त्रालयका अर्का अधिकारीले बताए ।
ती अधिकारीको भनाई अनुसार उक्त घटनाको जिम्मेवारी मन्त्री ज्वालाले पनि लिनुपर्छ ।
शुक्रबार आन्दोलनरत आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको लाठी प्रहारबाट मृत्यु भएको थियो ।
उक्त घटनापछि सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । यसैगरी फिल्डमा खटिएका प्रहरी, ईपीएस कोरिया शाखाका निर्देशकलाई निलम्बन गरेको छ ।