
काठमाडौँ, पुस १४- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटारस्थित एक सोफा कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।
गोठाटारको कृष्ण मन्दिर छेउस्थित तारालाल धरेलले संचालन गरेको सोफा हव काठमाडौंमा शुक्रबार अपरान्ह पौने ५ बजेदेखि आगलागी भएको हो ।
धरेलले ४ रोपनी क्षेत्रफलमा १० करोड लगानीमा सोफा हव काठमाडौं संचालन गरेका थिए ।
यसअघिका समाचारमा इन्द्र थपलियाले संचालन गरेको सोफा फ्याक्ट्री भनिएपनि आफुले केहि समय पहिले नै उक्त फ्याक्ट्री सोफा हव काठमाडौंलाई बेचेको कृष्ण थपलियाले हाम्रोसंचार जानकारी दिए ।
आगलागीबाट सोफा फ्याक्ट्री पूर्णरुपमा जलेको छ । आगलागीबाट १० बराबरको क्षति भएको संचालक धरेलले बताए ।
सोफामा प्रयोग गर्ने फमबाट बाहिरैबाट आगो लागेकाले हालसम्म आगलागीको कारण खुल्न सकेको छैन । ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगो निभाउन उपत्यकाका तीनै जिल्लाका विभिन्न पालिकाका १० वटा दमकल र कागेश्वरी मनोहरा नगरपालिकाको ट्यांकरसहित करिव ७ वटा ट्यांकर प्रयोग गरिएको थियो । आगो निभाउन नगरपालिकाका नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खटिएका थिए ।