
काठमाडौं, मङ्सिर १६- कुवेतको व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरिएको छ । पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर कुवेत पुगेकाहरू ठगीमा पर्ने र करार अनुसारको तलब र सेवा सुविधा नपाउने समस्या बढेपछि व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरिएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अबदेखि एकाघरका परिवारका सदस्यलाई स्थानीय तहबाट जारी भएको नाता प्रमाणितको कागजात कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको आधारमा र पहिला कुवेतमा काम गरेका पूर्व श्रमिकहरुको मात्र व्यक्तिगत भिसा प्रमाणीकरण हुने दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले हाम्रोसंचारलाई जानकारी दिए ।
पछिल्लो केही समययता नेपालबाट व्यक्तिगत श्रम स्वीकृति लिएर कुवेत पुगेका नेपालीहरू विभिन्न कारणले ठगीमा परेको र करार सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाउने गरेको गुनासो दूतावासमा आइरहेको छ ।
यस्ता गुनासोहरू बढ्न थालेपछि व्यक्तिगत भिसा प्रमाणीकरणलाई दूतावासले व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन लागेको जनाएको छ ।
कुवेतमा काम गर्न जाने कामदारका आफन्त र म्यानपावरहरुले व्यक्तिगत भिसा निकालेर पठाउने र नेपालमा श्रम सम्झौता लगायतका फर्जी काजगात वैदेशिक रोजगार विभागमा पेस गर्दै कुवेत आएर समस्या परेको राजदुत घनश्याम लम्सालको भनाई छ । राजदुत लम्सालका अनुसार व्यक्तिगत रूपमा भन्दै भिसा पठाएर गैरकानुनी रूपमा कामदार झिकाउने क्रम बढेपछि नेपाली दूतावासले त्यसलाई सहज र ब्यबस्थित बनाउने नीति लिएको हो ।
यता भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले पनि स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ ।
राजदूतावासले व्यक्तिगत भिसामा जान रोक लगाएपनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर व्यक्तिगत भिसा भएकालाई मोटो रकम लिएर श्रम स्वीकृति गराएरै कुवेत पठाउने गरेका हुन् ।
के हो व्यक्तिगत भिसा ?
व्यक्तिगत भिसाका लागि कुवेतमा जिम्मा लिने कम्पनी वा उसको आधिकारिक प्रतिनिधिले दूतावासबाट कागजात प्रमाणीकरण गरेर पठाएपछि नेपालबाट त्यहाँ जाने कामदारले कुनै म्यानपावर कम्पनी वा एजेन्टको भर पर्नु पर्दैन । कामदार स्वयंले वैदेशिक रोजगार बिमा, स्वास्थ्य परीक्षण, ओरियन्टेसन ट्रेनिङ, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याण कोषमा रकम जम्मा र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत जान सक्नेछन् ।
त्यहाँबाट कामदार मगाउने कम्पनीले नेपालबाट जाने कामदारको प्रवेश भिसा र पासपोर्टको फोटोकपी, कुवेतको चेम्बर अफ कमर्सबाट प्रमाणीकरण गरेको कामदारको श्रम सम्झौता (इम्प्लोइमेन्ट कन्ट्रयाक), दूतावासमा कागजात पेस गर्ने प्रतिनिधिको कुवेती परिचय पत्र (आवास अनुमति) र दूतावासमा शुल्क बुझाउनुपर्ने छ । दूतावासले यसैको आधारमा कामदारको काजगाज प्रमाणीकरण गरिदिने र सोही आधारमा कामदारले नेपालमा प्रक्रिया पुर्याएर कुवेत जान सक्नेछन् ।
यो पनि पढ्नुहोस्- व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने नेपालीले अनिवार्य स्वघोषणा भर्नुपर्ने