Hamro Sanchar

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ५ गते


काठमाडौ, मंसिर ५- सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

उक्त रिटमाथि आगामी मंसिर १९ गते सर्वोच्च अदालतको संयुक्त इजलासमा थप सुनुवाइ हुनेछ ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट परेका थिए ।

सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल ‘स्वागत’, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको हो ।

सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा पक्ष र विपक्षमा प्रतिक्रिया आएका थिए ।


प्रतिकृया दिनुहोस्