काठमाडौं, मंसिर ४- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले जानकारी दिए ।
दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि उनले बताए ।
‘उहाँहरूले लिखित रूपमा शान्तिपूर्ण ढंगबाट प्रदर्शन गर्न सुरक्षाको व्यवस्था मिलाइदिनु भन्नुभएको छ,’ सिडिओ बस्नेतले भने ।
दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ ।
यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको आकलन छ । ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ ।
कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन । प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।