
काठमाडौं, मङ्सिर २- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न जाँदा स्थानीयले बाटो अवरूद्ध गरेका छन् ।
शुक्रबार त्यस क्षेत्रका केही स्थानीयले रूख ढालेर बाटो अवरूद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुंगामुढा गर्दै आक्रमण गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते भएका छन् । प्रहरीले आक्रमणमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ ।
सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने निर्णय गरेको थियो ।
जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले ढुंगामुढा गर्नुका साथै अवरूद्ध गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।