काठमाडौं, मङ्सिर २- कुवेतको फर्वानिया अस्पतालमा झन्डै ३२ महिनादेखि उपचार गराइरहेकी चितवनकी आशा परियारलाई नेपाल फर्काइएको छ ।
५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत पुगेकी आशालाई बुधबार व्हिल चियरमा नेपाल फर्किइएको हो ।
नेपाली राजदूतावासको निक्कै लामो प्रयास पश्चात् आशासहित २१ महिने अवैध छोरीलाई काठमाडौंमा रहेको सामाजिक संस्था ‘अमृतसर सामाजिक संगठन’को संरक्षणमा राखिने गरी स्वदेश फर्काइएको राजदुत घनश्याम लम्सालले हाम्रोसंचारलाई जानकारी दिए ।
आशाले अस्पतालको कोमामै छोरीलाई जन्म दिएकी हुन् ।
पछिल्लो समय अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत ३२ महिनादेखि फर्वानिया अस्पतालमा उपचार भैरहेको थियो । उनको टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसनसमेत गरिएको अस्पतालले जनाएको छ ।
आशा अझैसम्म बोल्न सक्दिनन् । २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए ।
त्यसपश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो । नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लो पटक चितवन सेवा समाजको पहलमा आमा छोरीकै उद्वार गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले जानकारी दिए ।
नेपाली दूतावासका सिराज अहमद महम्मदले बिरामीको उद्वारका लागि सक्रियतापुर्वक समन्वय गरेका थिए ।
आशाका आमाछोरीसहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक संस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिए ।