
काठमाडौं, कात्तिक १५- नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज फर्कँदैछन् ।
उनी विहान ९ बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । गत शनिबार राति नेपाल आएका महासचिव गुटेरेसले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे ।
उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए । त्यसबाहेक उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण पनि गरे ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्नेमा पनि उनको जोड थियो ।