Hamro Sanchar

आमासहित एकै परिवारका चार जनाको सामूहिक हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १० गते


मुगु, कात्तिक १०- मुगुको छायानाथ रारा नगरपालिका -६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । एकै परिवारका आमा २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो ।

घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव दे‍खेपछि शुक्रबार बिहान ९ बजेतिर छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या भएको खबर पाउन वित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार घटना दुई दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।

८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ ।

कार्त्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो । लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको विभत्सरुपले हत्या गरिएको अवस्थामा देखेका थिए ।

ती महिलाका श्रीमान् एक वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतारमा रहेका बताइएको छ ।


प्रतिकृया दिनुहोस्