
दाङ, कात्तिक ९- दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् ।
लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख, एसपी रामबहादुर केसीले बताए ।
‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ ।’
शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो ।


















