चितवन, कात्तिक ६- कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । बिहीबार अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ ।
उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापकरूपमा प्रसार गरिएको छ । यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ । सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ । ‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौं र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टको ब्याचलाई पूरै सील गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ ।’
केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रिया दिएका छन् र चीनको सबैभन्दा प्रख्यात पेय ब्रान्डमध्येको एक उक्त कम्पनीको समर्थनमा टिप्पणी गरेका छन् ।