काठमाडौं, असोज २५- एसिसी यू-१९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ ।
बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो । नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो ।
इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए । बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३-३ विकेट लिए । हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो । देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे । देवले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन् ।
यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए । नेपालका लागि यू-१९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन् । देवको शतकका साथै नेपालका लागि ओपनर दीपक बोहराले ६५ रन र दीपक डुम्रेले ६९ रन जोडे ।
मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ । अब नेपालले आइतबार बहराइनसँग खेल्नेछ ।