
बाँके, ओज ५- बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
आज राति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिइन् । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राति झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन ।
पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो । यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको थियो ।
बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।