Hamro Sanchar

१९ औँ एसियाली भलिबलमा नेपाल बहराइनसँग पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २ गते


Advertisement

काठमाडौं, असोज २- नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बहराइनसँग ३–१ को सेटमा पराजित भएको छ ।

पहिलो सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाउन पुगेपछि पराजित भयो । एसियाडअन्तर्गत समूह ‘बी’को खेलमा बहराइनले २०–२५, २५–२०, २५–१८ र २५–१५ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो ।

एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन २३ सेप्टेम्बरबाट हुँदैछ । यद्यपि प्रतियोगिताको उद्घाटन अघि नै केही खेलहरु भने सुरु भएका छन् । आजबाट टिम इभेन्टका खेलका रुपमा रहेका भलिबल, फुटबल र क्रिकेटको प्रारम्भिक खेलहरु सुरु हुँदैछन् ।

चाइना टेक्स्टाइल सिटी स्पोर्ट सेन्टरको (सिएक्ससी) को जिम्न्याजियममा भएको खेलमा बलियो मानिएको बहराइनसँग पहिलो सेट रोमाञ्चक रुपमा आफ्नो पक्षमा पारे पनि त्यसपछि नेपाल लगातार कमजोर देखियो ।

अब नेपालले समूहको दोस्रो तथा अन्तिम खेल बुधबार एसियन पावर हाउस इरानसँग खेल्ने छ । महिला भलिबलमा भने नेपालले ३० सेप्टेम्बरमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिकृया दिनुहोस्