काठमाडौं, भदौ २२- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिए ।
त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे । नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए ।
उनले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने बताए ।
अर्थमन्त्री महतले भने, ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्यारहित भईसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब सुरु हुन्छ ।
अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वाससमेत व्यक्त गरे।