
चुनावको खर्च विवरण सार्वजनिक नगरेको कसुरमा उम्मेदवारहरुलाई जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
मोरङ-२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार विनोद भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका हुन् । आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै उनले सर्वोच्च गुहारेका हुन् ।
रिटमा उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय र त्यस अनुसार भएको पत्राचार बदर गर्न परमादेश माग गरिएको छ । यो रिटमा मंगलबार सुनुवाइ हुने भएको छ । यसअघि यही जरिवानाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदले उच्च अदालत पाटनमा रिट दिएका थिए ।


















