Hamro Sanchar

भारतीय फिल्म चलाउन दिन उच्च अदालतको अन्तरिम आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ७ गते


काठमाडौं, असार ७- हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए ।

‘अन्तरिम आदेश जारी भयो। अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने ।

उनी संघका कानुनी सल्लाहकार समेत हुन् ।

विपक्षीसँग छलफल गर्नको असार १२ गते दुबै पक्षलाई अदालतले बोलाएको छ ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए ।


प्रतिकृया दिनुहोस्