Hamro Sanchar

समाजवादी मोर्चा बन्दै, नयाँ नेकपा बनाउने तयारी बारे के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३१ गते


काठमाडौं, जेठ ३१- पार्टी एकता सम्भव नभएपछि मोर्चा बनाउने सत्ता गठबन्धनमा आबद्ध तीन दलको प्रयास जारी छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत दलका नेताहरू केही समयअघिदेखि मोर्चा बनाउने प्रयासमा जुटेका हुन् । केही दिनभित्रै समाजवादी मोर्चा घोषणाको सम्भवना रहेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ बताउँछन् ।

मोर्चामा यी तीन दलसँगै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सहभागी हुने पक्कापक्की भएको छ ।

कम्युनिस्ट पार्टीहरूबीच मोर्चा बनाउनुपर्ने पक्षमा उभिँदै आएका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईको दल भने यसमा रहने/नरहने निश्चित भइसकेको छैन ।

नेताहरूका अनुसार नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतमलाई पनि मोर्चामा भित्र्याउने प्रयास जारी छ । तर, गौतम पनि आउने/नआउने टुंगो भइसकेको छैन ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै समाजवादी मोर्चा घोषणा गरिने बताएका छन् । बुधबार दाङमा आयोजित एक कार्यक्रममा उनले तल्लो तहमा समेत समाजवादी मोर्चा बनाइने स्पष्ट पारे ।

“समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,” प्रचण्डले भने, “तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।”

उनले फेरि नयाँ नेकपा बनाउने प्रयास समेत भइरहेको बताए । मोर्चा निर्माण कार्यदलमा रहेका वरिष्ठ नेता श्रेष्ठका अनुसार शीर्ष नेताहरूबीच छलफल भएपछि घोषणाको मिति टुंगो लाग्नेछ ।


प्रतिकृया दिनुहोस्