दोलखा, जेठ १९- नवनिर्मित ज्येष्ठ नागरिक सेवा भवनलाई सञ्चालन गर्ने र आसपासको क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य सहित दोलखाको प्रसिद्ध चर्नावती धाममा आयोजना गरिएको महापुराणबाट दुई करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ ।
गत जेठ ७ गते सुरु भइ सोमबार सम्पन्न भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञका क्रममा १ करोड ५ लाख बराबरको रकम नगदै र बाँकी घोषणाबाट सङ्कलन भएको हो । घोषणा गर्नेमध्ये व्यक्तिगत तर्फ करिव १३ लाख रहेको छ भने बाँकी जिल्ला स्थित विभिन्न स्थानीय तहहरुको घोषणा रहेको आयोजक चचर्नावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए ।
महायज्ञमा व्यक्तिगत तर्फ सबैभन्दा धेरै वैतेश्वर गाउँपालिकाकी शारादा उप्रेती घिमिरेले १५ लाख २ हजार दान गरेकी छिन् । स्थानीय तहतर्फ वैतेश्वर गाउँपालिकाले १५ लाख ६० हजार, शैलुङ गाउँपालिकाले १५ लाख, मेलुङ र तामाकोशी गाउँपालिका तथा जिरी नगरपालिकाले १० लाखका दरले रकम अक्षयकोषमा जम्मा गर्ने घोेषणा गरेका छन् भने अन्य बाँकी कालिञ्चोक, विगु र गौरीशङ्करले पनि अन्यकै हाराहारीमा अक्षयकोषमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको आयोजकले जनाएको छ । भीमेश्वर नगरपालिकाले भने धामको विभिन्न विकासमा आवश्यक सहयोग गर्ने भन्दै तत्कालै एउटा भवन निर्माण गरिदिने घोषणा गरेको छ ।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक संयोजक शिव कुमार भुजेलका अनुसार महायज्ञको सम्बन्धमा छिटै पत्रकार सम्मेलन गरी आम्दानी र खर्च लगायत सम्पूर्ण विवरण सार्वजनिक गर्ने बताइएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित चर्णावतीमा सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा भवन सञ्चालन लागि रकम जुटाउन महायज्ञको आयोजना गरिएको थियो ।
चर्नावतीमा संघीय सरकारको करिब ३ करोड, प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको करिब १० लाख लगानीमा निर्माण भएको जेष्ठ नागरिक भवन सञ्चालनको तयारी गरिएको हो । १८ कोठा रहेको जेष्ठ नागरिक भवनमा एउटा भान्साकोठा, ३ वटा हल, ५ वटा शौचालय रहेको छ ।
जेष्ठ नागरिक सेवा भवनमा जिल्लाभरका जेष्ठ नागरिक तथा असहाय जेष्ठ नागरिकलाई राखिने छ । भवनमा जेष्ठ नागरिक र जेष्ठ असहाय नागरिक गरी ४० जना राख्ने गरी तयारी गरिएको छ ।