काठमाडौं, जेठ १९- ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र रहेको सडक निर्माण तत्काल सम्पन्नको माग गर्दै जोरपाटी–साँखु सडक बन्द गरिएको छ । सो क्षेत्रका स्थानीयले दक्षिणढोका सडकखण्ड आजपनि बिहानैदेखि बन्द गरेका हुन् ।
स्थानीयले तत्काल सडक निर्माण सम्पन्नको माग गर्दै बुधबारदेखि बाग्मती पुलदेखि दक्षिण ढोकासम्मको सडक अवरोध गर्दै आएका छन् ।
उनीहरुले निर्माण सामग्री नझारेसम्म सडक नखोल्ने अडान लिएका छन् । प्रहरी वृत्त, बौद्धले सडक खुलाउन पहल गर्दा पनि स्थानीयले मानेका नमानेको जानकारी दिएको छ । प्रहरी वृत्त, बौद्ध, स्थानीय र ठेकेदार सुबित श्रेष्ठलगायत पाँच दर्जनको उपस्थितिमा माकलबारी पुलनजिकै तीन दिनदेखि सडक निर्माण तत्काल सकाउने विषयमा छलफल भइरहेको थियो ।
बिहिबार बिहान बसेको बैठकमा ठेकेदार श्रेष्ठले शनिबार(भोलि) बाट काम थाल्ने मौखिक सहमति जनाए । तर विगतमाझैं आफूहरुलाई आश्वासन मात्रै दिइएको आरोप लगाउँदै स्थानीयले सामान नझारेसम्म सडक नखुलाउने ढिपी कसेका हुन् ।
सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या देखिएको छ । बौद्ध, चाबहिल, रत्नपार्क जाने सवारी साधनलाई स्थानीयले नारायणटारबाटै फर्काइदिएका छन् । साँखुदेखि आउने सवारीसाधनलाई भने मूलपानी मैदान नजिकैबाट फर्काइएको छ ।