Hamro Sanchar

गुण्डागर्दी नमच्चाउन पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १८ गते


काठमाडौं, जेठ १८- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुण्डागर्दी नमच्याउन चेतावनी दिएका छन् । बिहीबार पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो चेतवानी दिएका हुन् ।

राजतन्त्र फर्कने कुरा असंभव भएको बताएका छन् ।

“म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्,” खनालले भने, “एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।” पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए ।

साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ ।

“ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन । दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो । एकपटक जन्मेको बालक भित्र पस्न सक्दैन । राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन । मन्दिर नगए हुन्छ ।”

उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए ।

यस्तै खनालले भ्रष्टाचार निवारण गर्ने हो भने आफैंलाई छानबिन गर्न आग्रह गरेका छन् । पार्टीसम्बद्ध युवा संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सर्प कान्ड भनेर आफूलाई बदनाम गर्न खोजिएको पनि बताए ।

‘सर्पदंशबाट बचाउन भेनम उत्पादन गर्ने भनेर परियोजना अघि बढाइएको छ। यसमा मेरो कुनै संलग्नता भेटियो, एक पैसा, एक लालमात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ उनले भने, ‘म चुनौतीका साथ भन्छु, यी साइबर स्यालहरूलाई, यो देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अरू निकायहरूलाई पनि भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्। देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरू गर्नुस्।’

उनले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको प्रष्टीकरण दिए । नाम राख्न स्वीकृति दिएको तर आफ्नो सलग्नता नरहेको उनले बताए । ६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच नपालेको उनको भनाइ थियो ।

 


प्रतिकृया दिनुहोस्