
काठमाडौं, जेठ ३- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्याउनुपर्ने बताए। ‘यो काण्ड राष्ट्रघाति हो, मानवबेचविखन हो, अपराध हो।’उनले भने,‘देशका ठूलाठूला माछा बल्छिमा पर्दैछन्। तर जोगाउने प्रयास हुँदैछ भन्ने सुनिन्छ। चाँडै अनुसन्धान हुनुपर्छ।’
बुधबार बिहान मदन-आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी मन्त्री र नेता तिम्बती शरणानार्थी शिविरमा पुगेर भेट्ने गरेको बताएका हुन्। एमसीसी पास भएपछि अमेरिकाका नेताहरु नेपालमा धमाधम आउन थालेको बताएका छन्।
उनले भने, ‘एमसीसी पास भयो, एसपीपी पास गर्न खोजियो। अहिले अमेरिकी मन्त्री, नेता सेक्युरिटिसहित आउँछन्। सुरुमै तिम्बति शरणार्थी शिविरमा पुग्छन्। गृहमन्त्री भेटेर परिचय पत्र बनाउन लगाउँछन्। विदेशी दबाब बढेको बढ्यै छ।’
राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल बढेको उल्लेख गर्दै उनले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने बताए।
उनले नेपालमा वामपन्थी मिल्नै नचाहेको बताए। उनले वामपन्थी मिल्ने हो भने केन्द्र र सातै प्रदेशमा बहुमत हुने धारणा राखे।
पूर्वप्रधानमन्त्री खनालले नेपाल प्रहरीका अनुसन्धान गर्ने अधिकारीमाथि कसैले दबाब दिन नहुने धारणा राखे।


















