Hamro Sanchar

प्रहरी कार्यालयको बाथरूममा लडे पूर्वसांसद शेर्पा, टाउकोमा चोट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २ गते


काठमाडौं, जेठ २- नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पा बाथरूममा लडेका छन् । बाथरूम जाँदा लडेर शेर्पाको टाउकोमा चोट लागेको छ ।

शेर्पा सोमबार आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

शेर्पालाई टाउकोमा चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको हो । चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो ।

राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको उनले बताए ।

आफूविरूद्ध पुर्जी जारी भएको भन्ने समाचारहरूमा सुनेपछि आफैं उपस्थित भएको उनले प्रहरीलाई बताएका थिए ।

प्रहरीले शेर्पालाई रातभर कार्यालयमै राखेर सोधपुछ गरेको हो । आज पनि उनीसँग थप सोधपुछ हुने एसपी रिजालले बताए ।

शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए ।


प्रतिकृया दिनुहोस्