
काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी आईतवार साँझ बुढानिलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट समातिए । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई आइतबार साँझ पक्राउ गरेको थियो ।
अर्घाखाँचीका नारायण पौडेल रायमाझीका छिमेकी भाइ र बच्चा देखिका मिल्ने साथी पनि हुन् ।
आईतवार दिउँसो नारायण पौडेल राष्ट्रिय परीक्षा बोर्ड गएका थिए । साँझपख काठमाडौंको मौसम बिग्रेको थियो । कतै पानी त कतै हुरिले बितन्डा मच्चाईरहेको थियो । जसका कारण पौडेल पासिकोटस्थित घर पुग्दा ६ बजेर उता लागिसकेको थियो । घर पुगेर केहि समय बसेका मात्र के थिए, टुपुक्ल टोपबहादुर रायमाझी पुगे । पौडेलका नजरमा रायमाझी फरार अभियुक्त मात्र थिएनन्, उनका छिमेकी दाई र मिल्ने साथी पनि थिए ।
रायमाझीले भाइ नारायणलाई भने, “ल भाइ म आए, आज यतै बस्छु।” पौडेल अक्क न बक्क परे। हुदैन भन्न कहाँ सक्थे र! साँझमा आएको दाईलाई ।
पौडेलले दाईलाई सन्चो बिसन्चो सोधे । रायमाझीले आफू ठिक रहेको बताए । टोपबहादुर त्यहाँ पुग्दा आँधी हुरिसहितको पानी पर्न सुरु भयो । दाईले आज यतै बस्छु भनेपछी पौडेलले खाना पकाउन भनिसकेका थिए ।
पौडेलले दाइ टोपबहादुर रायमाझीलाई आफ्नो घरको तेश्रो तल्लोमा रहेको एउटा कोठामा लगेर राखे र दाजुभाई त्यही बसे । रायमाझीले सोचेका थिए, आजको रात यहिँ आरामसाथ बिताउन पाउछु ।
पोखराबाट गाडीमा आएका रायमाझी थाकेका थिए । यसै मौसमले च्यालेन्ज पनि गरेको थियो । थकान मेटाउन उनले भाईसँग चिसो बियर खाने ईच्छा व्यक्त गरे । सोही अनुसार भाइ नारायणले बियरको व्यवस्था पनि गरिदिए ।
कुराकानीमा रायमाझीले आफू सोमबार बिहान ११ बजे प्रहरी समक्ष हाजिर हुने कुरा पौडेललाई बताएका थिए ।
भीषण हावाहुरी र पानीकैबिच यति संवाद हुँदासम्म रायमाझी पौडेलको घरमा पुगेको २० मिनेट भएको थियो । उनिहरु कुराकानी गरेर बसिरहेका थिए । बाहिर हावाहुरीसहित भीषण पानी परिरहेको थियो । एक्कासि घरको घण्टी बज्यो । पौडेलले श्रीमतीलाई ढोका खोल्न भने । पौडेलकी श्रीमतीले ढोका खोलिन् । त्यहाँ ठूलो समुहमा मानिस थिए । पौडेलले घरको तेश्रो तल्लोको बार्दलीबाट बाहिर हेरे । सादा पोशाकका प्रहरीले आफ्नो घर घेरेको देखेपछी उनि भित्र छिरे र दाइ टोपबहादुरलाई भने, “प्रहरिले घर घेरा हालिसक्यो।” रायमाझीले कुनै प्रतिक्रिया दिएनन् ।
तुरुन्तै पौडेलको घरको तेश्रो तल्लामा प्रहरी पुगे । कोठाको ढोकामा भित्रबाट चुकुल लगाईएको थियो । कोठामा ढकढक गर्दै प्रहरीले भने, “खोइ माननीय ज्यु? ढोका खोल्नुस् ।
पौडेलले ढोका खोले । रायमाझी बरिरहेका थिए । प्रहरी कोठामा प्रवेश गरेर रायमाझीलाई समाते र भने, “ल माननीय ज्यु, जाँउ।” प्रहरीलाई रायमाझीले भने, “खाना बन्दै छ, पाक्यो होला। खाएर जाने।”
प्रहरीले पनि उनले खाना खाउन्जेल पर्खियो । जब रायमाझीले खाना खाईसके, त्यसपछी आफ्नो गाडिमा हालेर लगे ।
प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए । स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ । उनले डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए ।
विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो।
रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिए पनि प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बताएको छ।
रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले गृह मन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । तर पक्राउ पुर्जी जारी भएको थाहा पाएपछी एकाएक फरार भएका थिए ।
समाचार श्रोत : टोपबहादुर रायमाझी लुक्न पुगेको बुढानिलकण्ठ, पासिकोटस्थित छिमेकी भाइ, साथी नारायण पौडेलसँग गरिएको कुराकानीमा आधारित ।