Hamro Sanchar

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १४ गते


पोखरा, वैशाख १४- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ । शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ ।

नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो । त्यसपछि प्रदेश प्रमुख गुरूङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए ।

पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्