Hamro Sanchar

१५ दिनपछि उठाउन थालियो सिंहदरवारको फोहोर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


काठमाडौं । सर्वोच्चको आदेशपछि महानगरले आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ । तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश प्राप्त भएको काठमाडौं महानगरका मेयर बालेन साहको भनाई लगत्तै महानगरपालिकाले फोहोर उठाउन थालेको हो ।

आज अपरान्हदेखि फोहोर उठाउन थालेको परिवर्तन सेवा कम्पनीले आजै सिंहदरबार क्षेत्रको फोहोर उठाइसक्ने बताएको छ । परिवर्तन सेवा प्रा.लिका मित्र प्रसाद घिमिरेले बेलुका ८ बजेसम्म फोहोर उठाइसक्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले भने, ‘आजबाट मेयर साहबले फोहोर उठाउनु भन्ने निर्देशन गर्नु भयो र उहाँको फेसबुक पेजमा पनि अब सिंहदरवारको फोहोर उठ्छ भन्ने सूचना गर्नु भएको छ। त्यसैले अहिले हामी फोहोर उठाउँदै छौं । र यहाँको फोहोर बेलुका ८ बजे सम्म उठाई सकिन्छ । ’

महानगरले गत चैत २५ गतेबाट सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो । सर्वोच्च अदालतले ३ दिनभित्र फोहोर उठाएर बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।


प्रतिकृया दिनुहोस्