Hamro Sanchar

स्वास्थ्य मन्त्रालयको गेटमा किन गरियो कृत्रिम फोक्सो जडान ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २४ गते


Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।

वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ । धेरै देशहरुले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औं स्थानमा रहेको देखाएको छ ।

सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल फोक्सोको दीर्घकालीन रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदुषणको कारणबाट हुन्छ ।

कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदुषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम वायु प्रदुषणको समयमा घरबाट बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र राखिएको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्छ । वायु प्रदुषणको अवस्था हेर्न तथा यसले मानिसलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यो फोक्सो जडान गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।

उक्त कृत्रिम फोक्सो संगै काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने समेत देखाइनेछ । ‘यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ ।

३० दिनको अवधीमा यो जोडी फोक्सोको रंग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ’, डा। अधिकारीले भने, ‘यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत हुन्छ ।’


प्रतिकृया दिनुहोस्