Hamro Sanchar

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, खस्यो ८२९ मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ३ गते


काठमाडौं, चैत ३- उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमै मतगणना सुरू हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन् ।

प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग लिएनन् ।

शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन् ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन् । शाक्यलाई एमालेको मात्रै समर्थन छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ ।

कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२)ले गरेको छ ।

बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ । पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ ।

५० प्रतिशत नकटाए पुनः निर्वाचन गराउनुपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस्