Hamro Sanchar

महाशिवरात्री : अहिलेसम्म करिब डेढ लाखले गरे पशुपतिनाथको दर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ६ गते


काठमाडौं । महाशिवरात्री पर्व देशभर महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भिड लागेको छ । बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको भिड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरूलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरूको लाइन सहज रूपमा अघि बढीरहेको बताए । उनले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरूले पशुपतिनाथको दर्शन गरिसकेको जानकारी दिए ।

एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताएका छन् । त्यस्तै अर्का दर्शनार्थीका पनि चारैतिरको बाटोको व्यवस्था भए पनि व्यवस्थापन सहज नदेखिएको बताउँछन् । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताए।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा आरधना एवं दर्शनका लागि जम्मा भएका थिए ।


प्रतिकृया दिनुहोस्