Hamro Sanchar

प्रचण्डलाई नेपालले भनेः केपी ओली आफैंलाई सर्वेसर्वा ठान्छन्, उनको पछि नलाग्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २७ गते


Advertisement

काठमाडौं, पुस २७- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले दाहाललाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे।

उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गरे। अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए।

‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो। तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ। शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होलाु, उनले भने, विनम्रतालाई अवलम्बन गर्नु होला। संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला। राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला। राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईंलाई असल मानिस भनिएला। भ्रष्टाचारबाट जोगिनुभयो भने तपाईं एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला। अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनमा ओलीले आफूले ठिक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति समेत जनाए।


प्रतिकृया दिनुहोस्