Hamro Sanchar

माधवलाई फकाउँदै प्रचण्ड, सरकारलाई समर्थन गर्न प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


काठमाडौँ, पुस १३– नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर नेकपा (एमाले)संग गठबन्धन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसंग माफी मागेका छन् ।

हतार हतारमा एमालेसंग गठबन्धन गर्नुपरेकाले एमाले अध्यक्ष केपी ओलीसंगको छलफलमा बोलाउन नपाएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालसंग माफी मागेका हुन् । नेपाललाई फकाउँदै प्रचण्डले आफ्नो नेतृत्वमा बनेको सरकारलाई समर्थन गर्न नेपालसामु प्रस्ताव समेत राखेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।

भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको बताएका छन्। आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।

‘प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कनेबेला खबर नगर्ने ? यो रबैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्ताका कुरा सुनाउँदै भने ।

ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले जानकारी दिए । सरकारलाई समर्थनका लागि समाजवादी अझै पनि पर्ख र हेरको नीतिमा रहेको उनले बताए।


प्रतिकृया दिनुहोस्