काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार २ दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए । सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए ।