दार्चुला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला सदरमुकाम खलंगामा सोमबार भारतविरुद्ध प्रदर्शन गरेको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाए पनि अझै कार्यान्वयन गरेको छैन । नेपाली नागरिकहरुले ढुंगा प्रहार गर्दा तटबन्ध निर्माणमा संलग्न मजदुर घाइते भएको भन्दै भारतीय पक्षले नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।
भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउँदै विप्लवले दार्चुलामा विरोध प्रदर्शन गरेको हो । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको माग समेत उनीहरुले गरेका छन् । ‘लिपुलेक हाम्रै हो, फिर्ता गर’ भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।