चितवन । काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक भोली मंगलबारदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो सो सडक बन्द रहने नारायणगढ–मुग्लिन–नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । मुग्लिनदेखि पश्चिमका चारवटा पुल बनाउनका लागि दिउँसो सडक बन्द हुन लागेको हो ।
१ महिना जति दैनिक ४ घण्टा सडक बन्द गरेर काम गर्ने आयोजनाका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले बताएका छन् । चिसेन्जी, तुइन खोला, कालिखोला र सिमलतालमा पुल बनाउन पहाड काट्नु पर्ने भएको र पहाड काटेका बेला गाडी चल्दा जोखिम हने भएका कारण सडक बन्द गर्नु परेको उनले बताए ।
पुलको कामका लागि बाटो बन्द गर्दा बिरामी बोकेका एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मीका गाडी र अत्यावश्यक सेवाका केही गाडीहरुलाई अनुकूलता हेरेर सडक आरपार गराउने व्यवस्था मिलाएको पनि आचार्यले जानकारी गराएका छन् । बाटो बन्द हुने समयमा रोकिने गाडीको ठाउँ पनि तय भएको छ । नारायणगढ हुँदै मुग्लिन जाने यात्रु बस र साना गाडी जुगेडीदेखि १५ किलोसम्म रोक्ने व्यवस्था मिलाएको आचार्यले बताए ।
त्यसैगरी मालवाहक गाडी बिहान १०।५० बजेदेखि नै भतेरीदेखि रामनगरको जंगलसम्म रोकेर राखिने छ । मुग्लिन हुँदै पोखराबाट नारायणगढ तर्फ आउने यात्रु बस र साना गाडी बेनीटारदेखि पावरहाउससम्म र ट्रकहरूलाई आँबुखैरहनीमा रोक्ने आचार्यले बताए । काठमाडौंबाट मुग्लिन हुँदै नारायणगढ आउने बसलाई मुग्लिनदेखि केवलकारसम्म रोक्ने र ट्रकलाई लेबरटारमा रोक्ने उनको भनाइ छ ।