Hamro Sanchar

सासू-ससुरालाई पनि पक्राउ गर्न माग गर्दै नेहा चौधरी आन्दोलनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २९ गते


Advertisement

काठमाडौं । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीे सडक आन्दोलनमा होमिएकी छन् । सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरू गरेकी हुन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि छन् । उनीहरू विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरू गरेकी छन् ।

रामगोपालपुर चोकमा अहिले सवारी साधन ठप्प छ । ठाउँठाउँमा टायर बालिएको छ । सडकमा गुड्ने सवारी साधनहरू नेहा र निहारिकाले आफैं रोक्ने गरेकी छन् । उनीहरूले यातायात अवरुद्ध पारेका छन् । नेहाले श्रीमान् सासू ससुरालाई पक्राउ गर्न माग गर्दै घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गरेकी छन् । नेहा मंगलबार साँझ घर पस्न खोज्दा सासू र ससुराले अवरोध गरेपछि उनले धर्ना दिएकी थिइन् । प्रहरीले पंकजलाई पक्राउ गरेको छ । डाक्टरसमेत रहेका पंकज अहिले प्रहरी हिरासतमै छन् ।

नेहाले सासू र ससुरालाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै बिहीबार रामगोपालपुर बजारमा सवारीसाधन बन्द गराएर आन्दोलन सुरू गरेकी छन् । प्रहरीले बेलुकासम्म पक्राउ गर्ने आश्वासन दिएपछि उनले आन्दोलन स्थगित गरेकी थिइन् । तर, आज बिहानसम्म पनि पक्राउ नगरेको भन्दै नेहाले पनि आन्दोलन सुरू गरेकी छन् ।


प्रतिकृया दिनुहोस्