काठमाडौं । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्ने बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने बताएका हुन् ।
‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छरु म आशा गर्छु-उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा,’ बाँस्कोटाले ट्विट गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलगायतलाई माफी दिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले विरोध जनाएका थिए ।