काठमाडौं । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो ।
नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजर १६ रनको स्कोरमा आउट भए पनि अर्का ओपनर जर्ज मुन्से र क्रिस्टोफर म्याकब्राइडले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरी जित आधार तय गरेका थिए ।
मुन्से ४५ रन बनाएर दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लू आउट भए । म्याकब्राइड ४६ रनमा अविजित रहे । कप्तान रिची बेरिङटन १२ रनमा अविजित रहे । बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए । यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।
नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो । आफ्नो दोस्रो खेलमा नेपाल टिम स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।
नामिवियासँगको दोस्रो खेलमा बुधबार ८६ रनको पराजय ब्यहोरेको नेपालले शृंखलामा जितविहीन रह्यो । योशृंखलाको निराशाजनक प्रदर्शनपछि नेपालले अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि कठिन हुने देखिएको छ । नामिवियामा नेपालको ब्याटिङ र बलिङ दुवैमा निकै नै कमजोर प्रदर्शन थियो ।