काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्षद्वयले भेटवार्ता गरेका हुन् ।
मंसिर ४ गतेको निर्वाचनमा कुनै दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बनाउने बिषयमा प्रधानमन्त्रीले छलफल थालेका छन् । यही गठबन्धनलाई निरन्तरना दिन सत्तरुढ दलका नेता सहमत छन् ।
तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा औपचारिक छलफलसमेत नभएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री देउवाले प्रचण्डसँग शनिबार पनि छलफल गरेर गठबन्धनकै सरकार बनाउने समझदारी बनाएका थिए । देउवाले प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफलमा चुनावी परिणामको समीक्षा, आगामी सरकार गठनको विषयमा छलफल गरेको बताइएको छ ।
गठबन्धन दलले मात्रै नभएर नेकपा एमालेले पनि आफ्नो नेतृत्वको सरकार गठन गर्नेबारे छलफल थालिसकेको छ। यसैबीच, आज बिहानै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि आग्रह गरिसकेका छन् ।