काठमाडौं । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज १ बजेसम्म करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनमा मत हाल्न काठमाडौंमा रहेका विभिन्न जिल्लाका करिब ७ लाखले उपत्यका छाड्ने अनुमान गरेको छ।
दसैं-तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भए पनि २५ कात्तिकदेखि काठमाडौंलाई कर्मथलो बनाइरहेका विभिन्न जिल्लाका नागरिकले उपत्यका छाड्न थालेकामा ३ मंसिरसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन् ।
उनका अनुसार चुनावकै लागि विभिन्न पार्टी र व्यक्तिगत खर्चमै गाडी रिजर्भ गरेर मतदातालाई जिल्ला–जिल्ला र स्थानीय निर्वाचन क्षेत्रमा लैजान थालिएको छ। सोही कारण पछिल्ला दिनमा सरदर दैनिक सञ्चालन हुने गाडीको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार व्यवस्था गरिएको उनले बताएका छन् ।
चुनावमा मतदाता बोक्न लामा रुटका गाडीको प्रयोग बढी भइरहेको उनको भनाइ छ । चुनावमा प्रयोग भएका गाडीको एकिन तथ्यांक नभए पनि अधिकांश रुटका गाडी र निजी गाडीको समेत प्रयोग भइरहेको उनले बताए ।
चुनावकै मुखमा दैनिकजसो ६० हजार हाराहारी यात्रुले सडक मार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकै दिन ५८ हजार २९४ जना यात्रुले उपत्यका छाडेकामा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारी यात्रुले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताएका छन् । शनिबार उपत्यका छाड्नेको संख्या थप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ ।