काठमाडौं, मंसिर २- मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् ।
सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।
निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
निर्वाचन अनुगमन समितिले मौन अवधिमा निर्वाचन अचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
आयोगले बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई निर्देशन दिने निर्णय भएको छ । बिहीबार राति १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगको निर्देशन दिएको निर्वाचन अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।
बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन पनि आयोगले सर्वसाधारणलाई आह्वान गरेको छ । बिहीबार राती १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा ७ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिएको छ ।
मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
बिहीबार राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र त्यसको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने दिएको छ ।