काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीमाथि आचारसंहिता उलंघनको उजुरी गरेको छ । सुरक्षा निकायमार्फत निर्वाचन प्रभावित पार्न लागेको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी गरेको हो । उमेदवारले बढीमा दुई वटा चारपाङ्ग्रे गाडी प्रयोग गर्ने आचारसंहिता बए पनि मन्त्री कार्कीले ४० वटा गाडी प्रयोग गरेको एमालेको आरोप छ ।
गाडीसँगै सुरक्षा निकायको दुरुपयोग गरेको आरोप एमालेले पत्रकार सम्मेलनमार्फत लगाएको छ । एमाले सुनसरी क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन संयोजक सरोज पोख्रेलले कार्कीले सुरक्षा निकायका प्रमुखमार्फत समेत निर्वाचन प्रभावित पार्न खोजेको बताए । ‘सुरक्षा निकायका सबै प्रमुखहरू चुनावको मुखमा सरुवा गरेर ल्याएको छ । त्यो भन्दा ठूलो राजनीतिक चलखेल के हुन सक्छ रु’ उनले प्रश्न गरे ।
मन्त्री कार्कीसँगै एमालेले दुई जना पालिका प्रमुख र जिसस प्रमुखविरुद्ध समेत उजुरी गरेको छ । हरिनगरा गाउँपालिकाका अध्यक्ष जफार अन्सारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भन्डारी र जिसस सुनसरीका प्रमुख राजन मेहेताविरुद्धसमेत आचारसंहिता उलंघनको उजुरी परेको हो । निर्वाचित जनप्रतिनिधिहरूले भोट माग्न नहुने आचारसंहिता भए पनि पालिका प्रमुखहरू र जिसस प्रमुखले भोट मागेको एमालेको दाबी छ ।