पर्वत, कात्तिक २४- नेकपा एमालेका प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ ।
चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा गएराती आगजनीको प्रयास भएको हो । जिल्लाको जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिए ।
चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडासहित आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले बताए । उनले जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास गरेको बताए ।
गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुर्याएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति नभएको कुँवरको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको एमालेको भनाई छ ।